७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद्हरुले सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याएर आमसंचार प्रतिष्ठानबाट पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम हटाउने निर्णय गरेकामा आपत्ति जनाएका छन् ।
व्यवस्थापिका संसद्को विहिवार बसेको बैठकमा शुन्य र विशेष समयमा बोलेका काँग्रेसका सांसद्हरु रामकृष्ण यादव र अनिता देवकोटाले सरकारले पूर्वप्रधानमन्त्री भट्टराईको नाम हटाएर आमसंचार प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक ल्याउने तयारी गर्नु आपत्तिजनक भएको बताउनुभयो । अघिल्लो सरकारले पत्रकार महासंघका संस्थापक अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री भट्टराईको नाममा आमसंचार प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । सांसदद्वय यादव र देवकोटाले एउटा सरकारले गरेको निर्णय अर्को सरकारले उल्ट्याउने हो भने विकास निर्माणका एउटै काम हुन नसक्ने चेतावनी दिए ।

बैठकमा सत्तारुढ राष्ट्रिय जनमोर्चाकी सांसद् मीना पुनले सरकारका मन्त्रीहरुले हरेकजसो सार्वजनिक कार्यक्रममा नाकाबन्दी छिट्टै हट्छ भनेर भाषण गर्दै आए पनि नाकाबन्दी नहट्दा आमजनताले सास्ती सहनुपरेको भन्दै नाकाबन्दी कहिले हट्छ भनेर प्रश्न गरिन् ।
यस्तै, अर्को सत्तारुढ राप्रपा नेपालकी सांसद् कान्ता भट्टराईले नेताहरु आफ्नो स्वार्थ पूरा गर्ने खेलमा लागेका कारण आमजनता अनाथ जस्ता बन्न पुगेको भन्दै बैठकमा कविता वाचन गरिन् ।
बैठकमा नेपाली काँग्रेसका सांसद् आङटावा शेर्पा र कमल प्रसाद पंगेनीले भुकम्प प्रभावितहरुमाथि सरकारले दलगत आस्थाका आधारमा व्यवहार गरेको आरोप लगाए ।











