५ माघ, वीगंज । आन्दोलन सेलाएको वीरगंज नाकामा आज फेरि तनाव सुरु भएको छ । सोमबार साँझ कार्यदल बैठकमा प्रमुख तीन दल र मोर्चाका सदस्यबीच भनाभन भएपछि मोर्चाले दवावका लागि फेरि वीरगंजमा कार्यकर्ता परिचालन गरेर तनाव सिर्जना गरेको हो ।राजधानीमा प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा सहमतिको सम्भावना टाढिएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पर्साको वीरगञ्जमा पुनः आन्दोलन सुरु गरेको छ ।

सोमबारसम्म शान्त रहेको वीरगञ्ज मंगलबार विहानदेखि पुनः अशान्त देखिएको छ । मोर्चाका कार्यकर्ताहरुले घण्टाघर, माइस्थान लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले वीरगन्ज बजार बन्द गराउँदै हिँडेका छन् भने गाडीहरुमा तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताहरुले ना १ ज २३५५ नम्बरको जिपमा क्षति पुर्याएका छन् । हातमा बाँसका भाटा लिएर मोर्चाका कार्यकर्ताहरु तोडफोडमा उत्रिएपछि यातायात सेवा प्रभावित भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले दिएको जानकारी अनुसार वीरगञ्जमा लामो दूरीका गाडीहरु नचले पनि छोटा दुरीका साना गाडीहरु भने फाट्ट फुट्ट चलिरहेका छन् ।
दुई साता अघि सर्बदलीय र सर्बपक्षीय बैठकमा भएको सहमतिअनुसार मधेसी मोर्चाले वीरगञ्जमा बन्द र हड्तालको कार्यक्रम फिर्ता लिएको थियो ।











