४ माघ, काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्नो संसदीय दलको विधान संशोधनका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । संसदीय दलको सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा सचेतक गोकुल घर्तीमगर तथा सांसद्हरु डा. वंशिधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मिया सदस्य रहेको कार्यदल गठन गरेको हो । एमालेको संसदीय दल संविधानसभा कायम रहेका बेलाको विधान अनुसार चल्दै आएको छ । संविधानसभा व्यवस्थापिका संसद्मा रुपान्तरित भएकाले एमालेले दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको हो । बैठकले संसदीय बोर्ड गठनका बारेमा गृहकार्य गर्ने जिम्मेवारी प्रमुख सचेतक र सचेतकलाई दिएको छ ।

बैठकले व्यवस्थापिका संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई पारित गर्ने र काँग्रेस सांसद्हरुले दर्ता गराएको संशोधन प्रस्तावबारे काँग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले मधेसकेन्द्रित दलहरुसँग भइरहेको वार्ताका बारेमा जानकारी गराएका थिए । संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक लामो समय नबस्दा सदस्यहरुले आफ्ना धारणा राख्न पाएनन् ।











