२ पुस, काठमाडौं । सिमाङ्कन मिलाउन गठन गरिने राजनीतिक संयन्त्रलाई संवैधानिक हैसियत दिने निर्णय प्रमुख तीन राजनीतिक दलले गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक संयन्त्रलाई संवैधानिक हैसियत दिएर गठन गर्ने र तीन महिना भित्र सीमांकन टुंग्याउने निर्णय गरेको हो । माघ ५ गते बस्ने संसद बैठकबाट मधेसी मोर्चालाई विश्वासमा लिएर संविधान संशोधन गर्ने निर्णय तीन दल बैठकले गरेको छ ।
तीनदलको बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलकाअनुसार बैठकमा कार्यदलमा रहेका सदस्यहरुले मधेसी मोर्चाको पछिल्लो माग बारे जानकारी गराएपछि सो निर्णय भएको हो ।
बैठकले मधेसी मोर्चालाई कन्फिडेन्समा लिएर आगामी माघ ५ गते बस्ने संसदको बैठकबाट संविधान संशोधन गर्ने समेत निर्णय गरेको समेत पौडेलले जानकारी दिए ।












