३० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा जम्मा हुने प्लास्टिबाट १ लाख ४० हजार लिटर पेट्रोल उत्पादन गरिने भएको छ । सरकारले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएसँगै प्रदूषणको प्रमुख समस्याका रुपमा रहेको प्लास्टिकको व्यवस्थान सहज हुनुका साथै इन्धन आयातमा देखिएको समस्या समेत समाधान हुने भएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले प्लास्टिकबाट इन्धन निकाल्ने प्रणाली जडान गरेको हो ।
प्लास्टिकबाट इन्धन निकाल्नेसम्बन्धी द्विपक्षीय समझदारीमा नास्टका प्रविधि संकायका प्रमुख डा. सुरेशकुमार ढुंगेल र इको पाटीका अध्यक्ष चिसेको मात्सुमोतोले विहीबार हस्ताक्षर गरेका छन् ।
हाल जडान गरिएको प्रविधिबाट एक किलो प्लास्टिकबाट करिब एक लिटर कच्चा इन्धन निकालिएको छ । एक किलोग्राम प्लास्टिकबाट ७०० मिलिलिटर पेट्रोल उत्पादन गर्न सकिने नाष्टले जनाएको छ ।
नास्टले ठूलो परिमाणमा प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधिसमेत आगामी एक महिनाभित्र भित्र्याउने तयारी गरेको छ ।
दैनिक २० टनभन्दा बढी प्लास्टिकजन्य फोहोर काठमाडौं उपत्यकामा जम्मा हुने गरेको तथ्यांक छ । काठमाडौं उपत्यकाबाट मात्रै दैनिक एक लाख ४० हजार लिटर इन्धन उत्पादन हुने दावी समेत नाष्टले गरेको छ ।
विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, दाङ, नेपालगन्ज, धनगढी, महेन्द्रनगर जस्ता ठूला सहरबाट संकलन हुने प्लास्टिकजन्य फोहोरबाट पनि दैनिक तीन लाख लिटरभन्दा बढी इन्धन उत्पादन गर्न सकिने नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।
नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. रवीन्द्रप्रसाद ढकालले परीक्षणका रुपमा नै प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्रयाउन पाउँदा आफूहरुलाई खुसी लागेको बताए ।
व्यावसायिक उत्पादनका लागि सरकार र निजी क्षेत्रलाई मार्ग प्रशस्त गर्न नास्टले प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि भित्र्याएको उनको भनाइ छ ।
आगामी डेढ महिनाभित्र नास्टमा प्रयोगशाला स्थापना हुने जानकारी दिँदै डा. ढकाल दक्षिण अफ्रिका, अमेरिका, क्यानडा जस्ता मुलुकमा प्लास्टिकबाट व्यावसायिकरुपमा इन्धन उत्पादन गरिएको बताउँछन् ।











