२९ पुस, बंगलादेश । बंगलादेशमा जारी बंगबन्धुगोल्डकप २०१६ मा नेपालले बुधबार श्रीलंकामाथि १–० जित हासिल गरेको छ । यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । नेपालका लागि निर्णायक गोल विमल घर्तिमगरले गरेका हुन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा रहेको छ र टिमको दुई खेलपछि चार अंक भएको छ ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा मलेसियाका प्रिमियर लिग क्लब फेल्डासँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशको तीन र फेल्डाको एक अंक छ ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लामो समययता बुधबार जित निकाल्न सफल रहेको हो । नेपालले अन्तिम पटक सन् २०१३ को सेप्टेम्बर ५ मा भारतलाई काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा २–१ ले हराएको थियो । त्यसयता नेपालले ११ खेलमा जित निकाल्न सकेन ।
त्यसमध्ये दस खेलमा नेपालले कुनै गोल पनि गर्न सकेको थिएन् । त्रिवेन्द्रममा नेपालले भारतविरुद्धको ४–१ को हारमा गोलको खडेरी समाप्त पारेको थियो । त्यसमा पनि विमलनै गोल गरेका थिए । नेपालले श्रीलंकाविरुद्ध प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा पहिलो पल्ट खेलिरहेको हो ।
विमलको गोल खेलको दोस्रो मिनेटमै सम्भव भएको हो । ओभर ल्यापिङमा निस्केका रविन श्रेष्ठको क्रसमा विमलले नजिकको दूरीबाट गोल गरेका हुन् । नेपाली राष्ट्रिय टिमका लागि विमलको यो तेस्रो व्यक्तिगत गोल हो । उनका अरु दुई गोल पाकिस्तान र भारतविरद्ध रहेका छन् ।
हालै दक्षिण भारतीय राज्य केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पिनसप २०१६ मा नेपाल श्रीलंकाको हातबाट १–० ले पराजित भएको थियो । इन्ज्युरी समयको अन्तिम मिनेटमा भएको गोलले श्रीलंका विजयी भएपछि साफ च्याम्पियनसपमा नेपालको चुनौती समाप्त हुनुको प्रमुख कारण बनेको थियो ।











