२७ पुस, काठमाडौं । पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको निर्माण कार्यको शुरुवात माघ दुई गतेबाट गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पुनर्निर्माण प्राधिकरणराष्ट्रिय निर्देशक समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
पुननिर्माणलाई महाअभियानको संज्ञा दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबाट औपचारिक रुपमा शुभारम्भ गरिने भएको छ । माघ दुई गते राष्ट्रपति भण्डारीले काठमाडौंको रानीपोखरी र प्रधानमन्त्री ओलीले ललितपुरको बङमतिबाट विशेष समाहरोहका बिच पुनर्निर्माण महाअभियानको शुरुवात गर्ने प्राधिकरणका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । बैठकले पुनर्निर्माण प्राधिकरणको प्रशासनिक खर्च र सांगठनिक संरचना पनि टुङ्गो लगाएको छ । सचिव अधिकारीका अनुसार पुनर्निर्माण प्राधिकरणको प्रशासनिक खर्च वार्षिक २९ करोड हुनेछ ।

पुनर्निर्माण कार्यको समन्वय गर्न भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका लागि ६ वटा र भूकम्प प्रभावित १७ जिल्लाका लागि ७ वटा उपक्षेत्री य कार्यालय स्थापना गरिने भएको छ ।











