२७ पुस, काठमाडौं । मिठो स्वरकी धनी गायिका रेखा शाहको नमिठो व्यवहार सतहमा आएको छ । चर्को व्याज असुल्ने गरी रकम दिने र नदिए अपहरण नै गर्ने शाहको धन्दा यतिवेला खुलासा भएको छ । गायिका शाहसहित उनका पति ईन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले सन्दिपराज काफ्लेलाई केही रकम ब्याजमा दिएको तर काफ्लेले पैसा नतिरी भागेपछि उनका बाबु सुवासराज काफ्लेसँग १ करोड ४६ लाख रुपैयाँको कागज गराई धम्काएका कारण पक्राउ गरेको महानगरिय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी विश्वराज पोखरेल बताएका छन् ।
रकम लिएका काफ्ले सम्पर्कविहीन भएपछि गायिका शाहले ब्याज बढाउँदै उनका बाबुलाई रकम फिर्ता गर्न दबाव दिँदै आएकी थिइन् । काफ्लेका बाबुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
शाह दम्पत्तीलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
रेखासित व्याजमा लिएको पैसा तिर्न नसकेका सन्दिपराज सम्पर्कविहीन भएपछि रेखाले बुवा सुवासराजसित ताकेका गरेका थिए । सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी रेखासित छ । तर उनले त्यो रकम बढाएर डेढ करोडको कागज गराएकी थिइन् । रकम लिनका लागि बारम्बार धम्क्याउने र अपहरण गर्ने धम्की उनले दिँदै आएकी थिइन् ।
सल्लाहका लागि महानगरीय अपराध अनुसन्धान पुगेकी शाहलाई आज प्रहरीले हिरासतमा राखेको प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।
राजधानीमा समस्या परेका व्यक्तिहरुलाई चर्को व्याज लगाएर ऋण दिएर अकूत कमाई गर्ने प्रवृत्ति बढ्दै गएको छ ।











