२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा फोहोरबाट ग्यास उत्पादन गरेर पाइपबाट घरघरमा वितरण गर्ने बताएका छन् । हावाबाट विजुली निकाल्ने र एकवर्षभित्र लोडसेडिङ अन्त्य गर्ने ओलीको भनाइ हावादारी भएको भनी टिकाटिप्पणी भैरहेका बेला ओलीले अर्को महत्वकांक्षी धारणा सार्वजनिक गरेका हुन् ।
शुक्रबार राजधानी विशेष समन्वय कमिटिको उपत्यकाव्यापी कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले राजधानीलाई सिलिन्डरमुक्त क्षेत्र बनाउने दावी गरे । सिलिण्डरको ग्यास नपाएर छटपटाई रहेका राजधानीवासीलाई सुन्दै मिठो लाग्ने भनाइ कार्यान्वयन गर्ने योजना भने उनले सार्वजनिक गरेनन् ।
सरकारले ग्यासको मिटर टाँसिदिने र राजधानीवासीले चाहिएजति उपभोग गर्ने दिन अब टाढा नभएको जिकिर उनले गरे ।
हावाबाट बिजुली निकाल्न कुनै कठिनाइ नरहेको बताउँदै प्रम ओलीले अहिले पनि फर्पिङमा हावाबाटै बिजुली निकालेर गाउँ झलमल भएको उदाहरण दिए । लोडसेडिङ एक वर्षमा समाप्त हुने कुरा उनले शुक्रबार पनि दोहोर्याए । कांग्रेस नेता तथा पूर्वअर्थमन्त्रीको आलोचना गर्दै ओलीले लण्डनतिर उत्कृष्ट भएका मन्त्रीहरुले नेपालमा कुनै पनि विद्युत परियोजना अघि नबढाएकाले अहिले मुलुकले लोडसेडिङ व्यहोरिरहेको बताए ।












