२३ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाभित्रका दलहरुबीच चार घण्टासम्म निष्कर्षविहीन झगडा भएको छ । आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने/नगर्ने तथा आमहड्ताललाई निरन्तरता दिने/नदिने विषयमा मोर्चाभित्र विवाद् भएको हो ।
विहीवार अपरान्ह तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा साढे चार घण्टाभन्दा लामो समय बसेको बैठक विवादकै कारण विना निर्णय टुंगिएको छ । बैठकमा आमहड्तालको निरन्तरता र आन्दोलनका नयाँ कार्यक्रमको विषयमा घटक दलका नेताहरुले फरक फरक विचार राखेका छन् ।

कतिपयले आफूले राखेका माग पूरा भइनसकेको अवस्थामा आमहड्ताललाई निरन्तरता दिएर थप दवाब सिर्जना गर्नुपर्ने बताएका छन् । कतिपयले भने आन्दोलनका कारण मधेशका जनताको जनजीवन कष्टकर भएको र प्रमुख दलसँगको वार्ता पनि सकारात्मक रुपमा अगाडि बढेको अवस्थामा आमहड्ताल फिर्ता गर्नुपर्ने धारणा राखेका छन् । दुई थरी विचारका कारण बैठक शुक्रबार विहान ११ बजे बस्ने गरी टुंगिएको छ । बैठकमा सहभागी तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले धेरैजसो नेताहरुले आमहड्ताललाई निरन्तरता दिनुपर्ने धारणा राखेको बताए ।











