२२ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सचिव वर्षमान पुन अनन्तकोको स्वास्थ्य अवस्थाबारे बैंकक पुगेर जानकारी लिएका छन् । आजै बैंकक पुगेका प्रचण्डले अनन्तको अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डसँगै सभामुख ओनसरी घर्तीले पनि अनन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । पार्टी सचिव अनन्त सभामुख ओनसरीका पति हुन् ।

अनन्तको एक महिना अघिदेखि बैंककस्थित समितिवेज अस्पतालमा उपचार भइरहेको छ । जण्डिस रोगले ग्रसित पुनको स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भारतबाट बैंकक लगिएको थियो । बैंककमा उपचार भएको एक महिना भन्दा बढी भइसक्दा पनि अस्पतालले पुनलाई डिस्चार्ज नगरेपछि एमाओवादी अध्यक्ष दाहाल बुधबार सभामुख घर्तीलाई साथै लिएर बैंकक गएका हुन् । अनन्तको स्वास्थ्यबारे चिकित्सकहरुले प्रचण्डलाई जानकारी गराएका थिए । अनन्त अझै डिस्चार्ज हुने अवस्था नरहेको चिकित्सकहरुले बताएका छन् ।











