२० पुस, काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने भारतको चाहनाप्रति कांग्रेसले समेत त्यस्तो ईच्छा देखाएको छ । भारतको सो चासोप्रति सकारात्मक सन्देश दिन पार्टी उपसभापति रामचन्द्र पौडेललाई धार्मिक यात्रासहित राजनीतिक भेटघाटका लागि कांग्रेसले दिल्ली पठाएको हो । । उपसभापति रामचन्द्र आजदेखि पाँच दिने भारत भ्रमणमा गएका छन् ।
उनी सोमबार बिहान जेट एअरवेजबाट उडानबाट दिल्ली हुँदै हरिद्वारतर्फ लागेका छन्।
पतञ्जली योग पीठका नेपाल ट्रस्टी शालिकग्राम सिंहको साथमा उनको धार्मिक र राजनीतिक यात्रा तय भएको हो । संविधान जारी हुनु केही समयअघि कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणको श्रृंखलामा पौडेल पनि जाने तयारी रहेको भनिए पनि उनको भ्रमण पाँच महिनापछि मात्र हुन लागेको हो । देउवा र प्रचण्डसँग भारतीय नेताहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउन आग्रह गरेको कुरा सतहमा आएको थियो । देउवाले त आफूसँग भारतीय नेताहरुले यस्तो भनेको यतिवेला खुलासा गरेका छन् ।
पौडेल पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन रामदेवको निमन्त्रणामा भारत जान लागेको उनको तालिका मिलाई रहेका सिंहले कान्तिपुरलाई बताए । उनले पतञ्जलीमा आउने भारतीय नेताहरुसँग छलफल गर्नेछन् । हरिद्वार दुई दिन बस्ने उनको कार्यक्रम छ । त्यसपछि दिल्ली फर्कने र दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाललगायत नेता तथा उच्च अधिकारीसँग भेटवार्ता गर्ने सिंहले बताए ।
१३ औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका पौडेलको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको एक कांग्रेस नेताले बताए । उनी फर्केलगत्तै कांग्रेस सभापति सुशील कोइराला पनि भारत जानसक्ने स्रोतको दावी छ ।
पौडेलले नेपाल–भारत सम्बन्धका विषयमा भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँग छुट्टै छलफल गर्ने र नाकाबन्दीले पारेको असर तथा मानवीय संकटको अवस्था बुझाउने प्रयास गर्ने पनि बताइएको छ ।
यसअघि सरकारका तर्फबाट समेत उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले हिन्दू धर्मगुरु रविशंकरको दर्शन गर्दै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता गरेर फर्केका थिए । थापाको त्यो रणनीतिपछि नेपाल सरकारप्रति भारत केही लचिलो भएको अभिव्यक्ति आएको थियो ।












