१६ पुस, सिराहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व घोषित कार्यक्रम अनुसार आज (बुधवार) तराईका विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरेका छन् । आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीर नदेखिएको भन्दै त्यसको विरोधमा विभिन्न जिल्लामा लाठी जुलुस प्रदर्शन गरिएको मोर्चाले जनाएको छ । लाठी जुलुस प्रदर्शन गर्ने क्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरुले सरकारको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । जुलुसमा मोर्चाका नेता कार्यकर्ताहरुका साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सिराहामा आयोजित लाठी जुलुसलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने बताएका छन् । महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तैयार भएको बताए ।











