१४ पुस, काठमाडौं । सेवाग्राहीसँग ५ लाख घुस लिने क्रममा डिल्लीबजार मालपोत कार्यालयका तीन नायब सुब्बासहित चार कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ उनीहरुलाई क्वालिटी फास्टफुड क्याफेबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नायब सुब्बा मुकुन्दराज पाण्डे, एकनारायण अर्याल र पोषराज पोखरल तथा कार्यालय सहयोगी लहरी कुमाल छन् ।
काठमाडौं महानगरपालिका ८ गुहेश्वरीस्थित विभिन्न कित्ताहरूको १३० रोपनी क्षेत्रफल रहेको जग्गा मध्ये वाग्मती ढल सुधार आयोजनाले चर्चेको बाहेक वाँकी जग्गाको क्षेत्रफल एकीन गरी पाउँ भने दिएको निवेदनमा आवश्यक कारवाही नगरी जग्गाको क्षेत्रफल एकीन गर्न नापी शाखालाई लेखी पठाउन उनीहरूले घुस मागेका थिए ।












