१४ पुस, काठमाडौं । चीनले नेपाललाई तत्कालको आवश्यकता परिपूर्ति गर्न एक करोड युआन बराबरको इन्धन अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । चीनको पाँचदिने औपचारिक भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आफ्नो भ्रमण उपलब्धिमूलक भएको बताउँदै उक्त जानकारी दिएका हुन् । दुई देशबीच आर्थिक सम्बन्धको दीर्घकालीन रुपरेखा तयार पार्न भ्रमणबाट महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँको कथन थियो ।

यसअघि चीनले अनुदानमा प्रदान गरेको परिमाणमा नै फेरि पनि अनुदान सहयोगस्वरुप इन्धन दिने जानकारी दिँदै उहाँले इन्धन व्यापार विविधीकरण गर्ने राष्ट्रिय नीतिअनुसार चीनसँग इन्धन खरिदबारे विचारविमर्श भएको तथा दीर्घकालीन रुपमा इन्धन व्यापारका निम्ति कर, यातायात र मूल्यबारे सम्बन्धित निकायले आपसी छलफल गरी निर्धारण गर्ने सहमति भएको बताए । नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई मुलुकबीच खुल्ला र स्वतन्त्र व्यापार अभिवृद्धि, पारवहन सन्धि, लगानी वृद्धिका विषयमा पनि चिनियाँ पक्षसँग विस्तृत छलफल गरी अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री थापाले बताए ।
नेपालसँगको सीमा क्षेत्रसम्म चीनले रेल सेवा विस्तार गर्न लागेको सन्दर्भमा नेपाल सरकारले पनि रेलमार्ग निर्माणको प्रारम्भिक काम थाल्ने जानकारी पनि उनले दिए । चीनबाट कुन तहका नेताको नेपाल भ्रमण हुन्छ भन्ने जिज्ञासाको जवाफमा उनले उपयुक्त समयमा त्यसबारे जानकारी गराइने बताए । भ्रमणका क्रममा आफूले चिनियाँ उपराष्ट्रपति तथा सिचुवान प्रान्तका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेको उनले बताए ।











