१४ पुस, काठमाडौं । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले भूकम्प पीडितहरु चिसोमा कठ्याङ्ग्रिएर बस्न बाध्य भएको भन्दै तत्कालका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले चिसोका कारण केही दिन यता भूकम्पपीडितहरुको ज्यान नै गइरहेकाले सरकारले उपलब्ध गराउने राहतबाटै पछि मिलाउने गरी तत्काललाई ५० हजार रुपैयाँ प्रतिपरिवारका दरले वितरण गर्न निर्देशन दिएको हो । समितिले चिसोका कारण भूकम्प पीडितहरुलाई स्वास्थ्यमा समस्या देखिन थालेको भन्दै स्वास्थ्य जाँचका लागि टोली खटाउन निर्देशन समेत दिएको छ । यस्तै समितिले पुननिर्माणको काम छिटो सुरु गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
बैठकले प्रमाणको अभाव देखाउँदै सुन तस्करहरुलाई मुद्दा नै नलगाई छोडिएको विषयमा सरकारी वकिलको कार्यालयसँग स्पष्टिकरण लिने निर्णय गरेको छ । बैठकमा समितिका सदस्यहरुले सरकारी वकिलको कार्यालयका कर्मचारीले सुन तस्करहरुलाई सुनपानी छर्केर उन्मुक्ति दिएको र तस्करहरुको मनोबल बढाएको भन्दै दोषीमाथि कारवाहीको माग गरेपछि बैठकले सरकारी वकिलको कार्यालयका जिम्मेवार कर्मचारीसँग स्पष्टिकरण लिने निर्णय गरेको हो ।
समितिका सदस्यहरुले सुन तस्करहरु एक त समातिने नगरेका र समातिएका तस्करहरुलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयका कर्मचारीले घुस खाएर मुद्दा दायर नगरी छोड्न लगाउने गरेको भन्दै यस विषयमा दोषी कर्मचारीमाथि कारवाहीको माग गरका हुन् ।
चीनको खासाबाट सुन तस्करीमा संलग्न आकाशकुमार बज्राचार्य, बालकृष्ण अग्रवाल, साबर मल, श्रीराम चौधरी सहितका १२ जनालाई राजस्व अनुसन्धान विभागले नख्खु कारागार चलान गरेकामा बज्राचार्य धरौटी बुझाएर रिहा भएका थिए । धरौटी बुझाएर रिहा भएका बज्राचार्यलाई प्रहरीले प्रमाणसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा पेश गरेकामा कार्यालयले गत वैशाख २० गते उनलाई तस्करी गरेको प्रमाण नरहेको भन्दै थुनामा नराख्न प्रहरीलाई पत्राचार गरेको थियो ।











