१३ पुस, काठमाडौं । भारतको ग्रिन सिग्नलपछि नाकाबाट इन्धन भित्रिने क्रममा तीव्रता आएको छ । विराटनगर नाकामा लाइनमा रहेका ९६ मध्ये ७४ वटा ट्यांकर नेपाल भित्रिएका छन् । सोमबार मात्रै यति धेरै इन्धन नेपाल भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । अझै इन्धन ट्यांकर नेपाल आउने क्रम जारी रहेको उनले बताए ।

नाकाबन्दीपछि असहज भएको बिराटनगर नाका पछिल्ला दिनमा सहज बन्दै गएको छ । असुरक्षा बढेपछि बिराराटनगर नाकाबाट दुई दिन इन्धनका गाडी भित्रिएका थिएनन् ।
नेपाली अधिकारीले आफ्नोतर्फ सुरक्षाको भरपर्दो वातावरण भएको विश्वास दिलाएपछि भारतीय जोगबनी भन्सारले इन्धनका गाडी छाडेको हो ।
शनिबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा रहेका मधेसी मोर्चाका कार्यकर्ताले २ घण्टा नाका अवरुद्ध पारेका थिए । त्यसक्रममा झडप हुँदा महतो घाइतेसमेत भएका छन् । घटनापछि मधेसी मोर्चाले रानी नाकामा कुनै अवरोध गरेको छैन ।
दुई साता अघि जोगवनी नाकाबाट सबैभन्दा बढी २३ ट्याङ्कर पेट्रोल र ३४ ट्याङ्कर डिजल नेपाल आएको थियो ।











