११ पुस, काठमाडौं । सर्वहारा वर्गका विश्वप्रसिद्ध नेता माओत्से तुङको आज शनिबार १ सय २२औं जन्मजयन्ती मनाइएको छ । माओवादप्रति आस्था राख्ने नेपाली राजनीतिक दलहरुले पनि माओत्से तुङको जन्मजयन्तीमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

एकीकृत नेकपा माओवादीले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा माओ जयन्तीमा कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रमा देखा परेको विद्यमान समस्याको छिट्टै समाधान हुने बताए ।
उनले निरन्तरको क्रान्तिले मात्रै सबै समस्याको समाधान हुने भएकाले क्रान्तिको धारलाई पार्टीले कहिल्यै नत्याग्ने बताए ।
पार्टीहरुबीचको आपसी विवाद र पार्टी्भित्रकै अन्तरसंघर्षका कारण मुलुकले निकास पाउन नसकेको भन्दै उनले विद्यमान समस्याप्रति सबै एकजुट भएर निकासको बाटोतर्फ लाग्नुपर्ने स्पस्ट पारे ।
अध्यक्ष प्रचण्डले एकीकृत माओवादीकै एजेन्डामा मुलुक घुमिरहेको भन्दै व्यवहारिकरुपमै आफूहरुले उठाएका एजेन्डालाई पूरा गर्ने पक्षमा आफू सधैं तयार रहेको बताए ।
उनले माओवादी नेता तथा कार्यकर्तालाई एकताबद्ध हुँदै मधेसको समस्या समाधान र संविधान कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह पनि गरे ।











