११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको १९ महिना लामो विवाद् औपचारिक रुपमा साम्य भएको छ । राप्रपाले असन्तुष्ट खेमाको नेतृत्व गरेका नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्षको जिम्मेवारी सुम्पेसँगै राप्रपाको विवाद औपचारिक रुपमा साम्य भएको हो । काठमाडौको एउटा पार्टी प्यालेसमा शनिबार बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले चन्दलाई अध्यक्ष चुनेको छ । चन्द खेमामा लागेका सबैजसो केन्द्रीय सदस्य सहभागी बैठकमा निवर्तमान अध्यक्ष पशुपति शमसेर राणाले एक महिना पहिले भएको समझदारी अनुसार चन्दलाई पार्टी अध्यक्षको पद् हस्तान्तरण गरेको घोषणा गर्नुभयो । उहाँले चन्दलाई पूरा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

अध्यक्षको जिम्मेवारी पाएसँगै हर्षित देखिएका चन्दले पार्टीका कुनै पनि नेता तथा कार्यकर्तामाथि अन्याय हुन नदिने र पार्टीलाई कार्यकर्ताले गर्व गर्ने गरी नयाँ मुकाममा पुरयाउने प्रतिबद्धता जनाए । आलोपालोमा अध्यक्ष बन्ने डा प्रकाशचन्द लोहनी र सूर्यबहादुर थापाका पुत्र सुनिल थापाले पनि चन्दलाई नेतृत्व हस्तान्तरण गरेपछि खुशी व्यक्त गरेका छन् ।
चन्दले अबको १० महिना अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुने छ । चन्द, राणा र अर्का नेता डा. प्रकाशचन्द्र लोहनीबीच गत मंसिर ४ गते महाधिवेशन हुन बाँकि समयलाई तीन भागमा बाँडि तिनैजनाले पालैपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने समझदारी भएको थियो । समझदारी अनुसार चन्दपछि राणा र राणापछि डा. लोहनीले पार्टीको अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुने छ । राप्रपाको एकता महाधिवेशन २०७० सालको जेठ महिनामा भएको थियो ।











