१० पुस, काठमाडौं । सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले गठनको एक सय दिन पुगेपछि आली सरकार ढाल्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौमा आयोजित साक्षात्कारमा एमाओवादी नेता किराँतीले वर्तमान सरकार महङ्गी, कालोबजारी र तस्करी नियन्त्रण गर्न तथा मधेश आन्दोलन सम्बोधन गर्न असफल भएकाले सय दिन पुगेपछि आफ्नो पार्टीले सरकार ढाल्ने बताए ।

उहाँले पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने आवाज उठेको तर अध्यक्ष प्रचण्डले हनिमुन अवधि पूरा भएपछि सोचौंला भन्ने जवाफ दिएको पनि उनले खुलासा गरे । सरकार गठन भएको अढाइ महिनाको अवधिमा मन्त्रीपरिषद् पाँच पटक विस्तार भएको भन्दै उनले आलोचना गरे । भूकम्प प्रभावित जनता न्यानो कपडा र भरपर्दो ओत नहुँदा चिसोका कारण मर्न थालेकामा प्रधानमन्त्री ओली एकदुई सिटे पार्टीका सांसद्लाई मन्त्रालयहरु नै फुटाएर मन्त्री बनाउन व्यस्त भएको भन्दै उनले आक्रोस पोखे । एमाओवादी नेता किराँतीले प्रधानमन्त्री ओलीका गतिविधि मुलुकलाई नै लज्जित बनाउने खालका भएको उनले टिप्पणी गरे ।











