१० पुस, काठमाडौं । नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युतभार कटौतीको समयमा वृद्धि गरेको छ ।
प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युतभार कटौती हुँदै आएकोमा शुक्रबारदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदको समयमा नदीमा पानीको प्रवाह कम भएको छ । ७ सय ८० मेगावाट क्षमतामध्ये हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ३०० मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ ।
यस्तै भारतबाट दैनिक २ सय ३५ मेगावाट विद्युत् आयात हुँदै आएको छ । भारतको अघोषित नाकाबन्दीपछि दैनिक विद्युत्को माग बढेर हाल एक हजार ३०० मेगावाट भन्दा बढी पुगेको छ । खाना पकाउने साँझ बिहानको समयमा विद्युत्को माग अझ बढी रहेको छ । सरकारले एक वर्ष्भित्र विद्युत्भार कटौती अन्त्य गर्ने जनाएपनि प्राधिकरणले दैनिक एघार घण्टा कटौती हुन थालेपछि चिसो मौसममा उपभोक्ता थप मारमा परेका छन् ।














