१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो र छरितो मन्त्रिपरिषद् बनाएर देश र जनताको हितमा फटाफट काम गरौँ भनेर सोचेको भए पनि परिस्थिति त्यसको प्रतिकूल देखिएको बताएका छन् ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले शुक्रबार काठमाडौमा आयोजना गरेको ‘नयाँ संविधान र सेवा प्रवाहको सन्दर्भमा जवाफदेहिता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नयाँ संविधान जारी भएपछि मुलुक आर्थिक उन्नति र विकासको नयाँ चरणमा प्रवेश गरेको बताउँदै उनले आन्दोलन, असहमति र असन्तुलनको नाममा लगातार अरूको बाँच्न, हिँड्न, पढ्न पाउने मानवअधिकारको हनन कोही कसैबाट हुन नहुनेमा जोड दिए ।
संविधानलाई अवमूल्यन गर्ने, संवैधानिक हैसियत घटाउने प्रयासस्वरुप आइरहेको विचारको अब कुनै अर्थ नरहने ओलीको भनाइ थियो। प्रधानमन्त्री ओलीले मुलुकको भौगोलिक, जातीय, आर्थिक र सामाजिक विविधतालाई बुझेर राष्ट्रिय एकता बलियो हुने संविधान निर्माण गरिएको दावी गरे ।












