८ पुस, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी छिट्टै खुल्ने बताएका छन् । सरकारले गम्भीर रुपमा कूटनीतिक पहल अगाडि बढाएको भन्दै उनले नाकाबन्दी छिट्टै खुल्ने बताए ।
नेपाली कांग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ औं जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जतिसक्दो छिटो संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुपर्ने बताए । आम नेपालीलाई साथमा लिएर राजनीतिक दल दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्नामा लाग्नुपर्नेमा उनको जोड थियो ।
कांग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले सन्त नेता भट्टराईको जीवनीबारे प्रकाश पारे । नेता भट्टराईको पालामा छ महिनाभित्र संविधान बनेको र कार्यान्वयन भएको भन्दै उनले भट्टराई नेपाली राजनीतिक इतिहासमा सफल नेताका रुपमा स्थापित भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता भट्टराईले देखाउनुभएको बाटोमा नेपालका राजनीतिक दल हिड्न सके देशले काँचुली फेर्ने बताए । रासस












