८ पुस, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने संकेत गरेका छन् ।
बुधबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै थापाले चीनबाट इन्धन आयातका लागि प्रयास गरिने बताएका हुन् । सरकारले व्यापार तथा इन्धन आपूर्तिमा विविधिकरणको नीति अवलम्बन गरेको र यसका लागि भएका प्रयासहरुलाई ठोस रुपमा कार्यान्वयनमा लगिने उनको भनाइ छ ।
उनले भ्रमणको क्रममा चीनले नेपालामा लगानी गरेका आयोजनाहरु र दुई देशको व्यापारको विषयमा पनि कुरा हुने जानकारी दिए ।
एक फरक प्रसङ्गमा उपप्रधानमन्त्री थापाले मधेस केन्द्रित दलहरुलाई तत्काल आन्दोलन स्थगन गरेर नमिलेको विषय टुङ्ग्याउन वार्तामा बस्न पुनः आग्रह गरेका छन् ।
चीन र नेपालबीच मैत्री सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा चिनियाँ परराष्ट्र मन्त्रीको निमन्त्रणामा उपप्रधानमन्त्री थापा चीन प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्री थापा नेतृत्वको टोलीमा कानुन मन्त्री अग्नि खरेल, परराष्ट्र, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु पनि सहभागी छन् ।












