८ पुस, काठमाडौं । भारतले सीमा नाका खुकुलो बनाउनुका साथै नेपाल आयल निगमले मागेजति पेट्रोलियम लोड दिन सुरु गरेको छ । मधेसी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले पारित गरेको ३ बुँदे प्रस्तावलाई भारतले स्वागत गरेसँगै त्यसको असर सीमा नाकाहरुमा देखिएको हो ।

इन्धनमा निकै कडाइ गरिरहेका भारतीय भन्सारहरुले सीमालाई खुकुलो बनाएका छन् । तीन दिनयता मात्र सुनौली भन्सारबाट झण्डै एक महिनादेखि रोकिएका ५१ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् ।
अझै सीमापारी सुनौलीमा ६३ बुलेटहरु नेपाल आउन लाइनमा छन् । भारतीय सुनौली भन्सारले पछिल्ला दिनमा भन्सार पास खुकुलो बनाएकाले केही दिनमा बाँकी सबै बुलेट नेपाल भित्रिने नेपाल आयल निगमको अपेक्षा छ ।
पछिल्ला दिनमा भित्रिएका ग्यास बुलेटमध्ये आधाभन्दा बढी बुलेट काठमाडौंमा ग्यास बाँड्ने उद्योगकै भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । अब काठमाडौंमा तिहारपछि सुस्ताएको ग्यासको वितरण तीव्र हुने उनले दाबी गरे ।
‘चितवन, काठमाडौं, धादिङ लगायतका ठाउँमा रहेका ग्यास उद्योगका बुलेट पनि आएका छन् । भैरहवाका ग्यास उद्योगले पनि भरिएका सिलिन्डर काठमाडौं ल्याएर बाँड्छन् । त्यसैले अब ग्यास वितरण फेरि सुरु हुन्छ’ प्रवक्ता घिमिरेले भने ।
यसैबीच भारतीय आयल कर्पोरेशन (आइओसी० का डिपोहहरुले नेपाल आयल निगमले मागेजति तेल दिन सुरु गरेका छन् । मेची नाकापारि रहेको आइओसीको सिलगुढी, बरौनी, बेतालपुर, गोन्डा र बनथरा डिपोले मागेजति इन्धन दिन सुरु गरेको आयल निगमले जनाएको छ ।
वीरगञ्जमा मधेसी मोर्चाको धर्ना जारी भएकाले रक्सौल डिपोबाट भने तेल आयात गर्न सकिएको छैन । यसअघि विभिन्न कारण देखाएर यिनै डिपोहरुले नेपाली ट्यांकरलाई लोडिङ दिन आनाकानी गर्ने गरेका थिए । डिपोका अधिकारीले माथिको आदेश भन्दै तेल दिन कटौती गरेका थिए ।
पछिल्ला दिनमा सीमानाकाहरुमा भारतीय पक्षको कडाइ खुकुलो भएपछि आइओसीका डीपोहरुले तेल लिन गएका सबै ट्यांकरमा सजिलै लोड दिन थालेको आयल निगमका प्रवक्ता घिमिरेले बताए ।
अहिले आइसोसीले सबै ट्यांकरलाई लोड दिन ढिलाइ गरेको छैन । त्यसैले जतिसक्दो धेरै ट्यांकर पठाएर तेल भित्र्याउन प्रयास सुरु गरेका छौं ।’ प्रवक्ता घिमिरेले भने ।
भारतीय नाकाबन्दीपछि आइओसीका डिपोले कति दिनसम्म नेपाली ट्यांकरलाई तेल नै दिएका थिएनन् । दिने भनेर बोलाए पनि डिपो पुगेका मध्ये १० प्रतिशत ट्यांकरमा मात्रै लोड दिने गरेका थिए ।











