८ पुस, काठमाडौं । सरकारले संविधान संशोधन विधेयक विचार गरियोस भन्ने प्रस्ताव संसदमा पेश गरेको छ । बुधबार बसेको संसद बैठकमा सरकारका तर्फबाट उद्योग मन्त्री सोमप्रसाद पाण्डेले उक्त विधेयक पेश गरेका हुन् ।
मधेसी मोर्चाको चर्को नाराबाजीबीच पनि उक्त विधेयक पेश भएको हो । सो विधेयकमाथि आगामी पुस १२ गते बस्ने बैठकमा छलफल हुनेछ ।

यसैगरी बैठकमा सांसदहरु रामहरी खतिवडा, अनुराधा थापामगर, प्रेमबहादुर सिंह, सुशीला नेपाल, मीना पुन लगायतले गत हप्ता जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अपमान र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
सभामुख ओनसरी घर्तीमगरले जनकपुरको घटनाबारे संसदमा जानकारी गराउन सरकारलाई निर्देशन दिएकी छन् ।
संसद आगामी पुस १२ गतेसम्मको लागि स्थगित भएको छ । अर्को बैठक १२ गते दिउँसो १ बजे बस्ने छ ।











