७ पुस, काठमाडौं । भारतीय राजदूत रञ्जित रेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । नेपाल सरकारले अगाडि सारेका तीन बुँदे प्रस्तावमा सहमति जनाउन मधेसी मोर्चाका नेतालाई निर्देशन दिएलगत्तै रेले भेटघाटलाई तीव्रता दिएका हुन् । उनले मंगलबार उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीलाई भेटेका हुन् । एमाओवादी कोटाबाट वर्तमान पदमा पुगेका उपराष्ट्रपति र सभामुखलाई राजदुत रेले भेट्नुलाई अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ ।

उपराष्ट्रपतिसँगको भेटलाई शिष्टाचार भेट भनिए पनि सभामुखसँगको भेट संविधान संशोधन प्रस्तावप्रति भारतको चासोका बारे भएको जनाइएको छ । रेले सभामुख घर्तीसँग संविधान संशोधन विधेयकमाथिको छलफलको प्रक्रियाका बारेमा चासो राखेका छन् ।
भारतीय राजदूत रेले मंगलबार सिंहदरबार पुगेर सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरी संशोधन विधेयकमाथिको छलफलको प्रक्रियाका बारेमा चासो राख्नुभएको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विधेयकको विरोध गर्दै आएको सन्दर्भमा भारतीय राजदूत रेले विधेयकमाथिको छलफलको प्रक्रियाका बारेमा चासो राख्नुभएको हो ।
सभामुख घर्तीले भारतीय राजदूत रेलाई आफूले मोर्चाले अवरोध गरेपनि विधेयकमाथिको छलफल अगाडि बढाउने बताएको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।
व्यवस्थापिका संसद्को बैठक बुधबार विहान ११ बजे बोलाइएको छ ।











