४ पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा मधेसी मोर्चाका कार्यकर्ताले वारुणयन्त्र समेत तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ता र प्रहरी बिच शनिवार भएको झडपका क्रममा प्रहरी तथा प्रर्दशनकारी दुवैतर्फ दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रहरीले स्थितीलाई नियन्त्रणमा लिनका लागी चार राउण्ड हवाइ फायर र आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
मधेसी मोर्चाका कार्यकर्ताले कविर चोकमा टायर बालेर सडक अबरुद्ध पारेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। मोर्चाका कार्यकर्ताले सडकमा टायर बालेर प्रहरीमाथि ढुंगा मुडा प्रहार गरेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको रौतहट प्रहरी प्रवक्ता राजेन्द्र पोखरेलले बताए ।

झडपका क्रममा प्रहरी नायव निरीक्षक त्रिभुवन साहसहित ११ जना प्रहरी घाइते भएको उनले जानकारी दिए । प्रहरीले मोर्चाका एक नेतालाई पक्राउ गरेको छ । मोर्चाको नेता ललन यादवलाई पक्राउ गरेपछि आक्रोशित प्रर्दशनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।

मोर्चाका कार्यकर्ताले एउटा बारुणयन्त्र तोडफोड गरेका छन् । बारुणयन्त्रको अगाडिको सिसा फुटेको छ भने चालक घाइते भएका छन् । गौरको अवस्था शनिबार साँझसम्म पनि तानवग्रस्त रहेको छ ।












