४ मंसिर, काठमाडौं । शनिबारको विहान राजधानीको गोंगवुस्थित एक घरको दृश्य हो यो । पारिलो घाम ताप्दै यी श्रीमान् श्रीमतीले फलामको पातामाथि चुल्हो राखेर दाउरा बाल्दै फापरको ढिंडो पकाउँदै थिए । श्रीमान एउटा चुल्होमा ढिँडो पकाउँदै थिए भने श्रीमती अर्को चुल्होमा तरकारी लगायत अन्य परिकार पकाउँदै थिइन् । ‘साहैं मिठो खाना पकाउँदै हुनुहुँदो रहेछ’ भनी नेपालदेश डटकमका प्रतिनिधिले बोलेको कुरा सुन्नेवित्तिकै पतिचाहिँले भने- ‘विस्तारै बोल्नुहोस् फेरि मधेसी मोर्चाका मान्छेले थाहा पाए भने यो पनि खान दिँदैनन् ।’

उनको यो भनाइ व्यङ्ग्यात्मक मात्र होइन साह्रै करुणादायी पनि थियो ।
ढिँडो मस्काउँदै पतिचाहिँले भने हिजोदेखि त झन कडा पार्न थाल्यो रे नि नाकाबन्दी । उनका आशय थियो – ‘अब यसरी दाउरामा पकाएर ढिँडो खान पनि कति समय पाइने हो ?’

तर दुःखमा पनि जोहो गर्ने र हाँसेर बाच्न सक्ने खुबी भएका नेपालीजस्तै यी दम्पत्तिले पनि इन्धनको अभावमा खाना पकाउन जोहो गरेको दृश्य रुचिपूर्ण देखिन्थ्यो ।

नेपाल र नेपालीप्रति नाकाबन्दी गरिरहेका केही मधेसी दलहरुले यतिवेला पूरै देशको जनजीवन अस्तव्यस्त बनाइदिएका छन् । केवल आगामी निर्वाचनमा भोट बढाउने खेलमा सारा नेपालीले यति दुःख पाइरहँदा पनि मधेसी मोर्चाले नाकाबन्दी खोल्ने संकेत गरेको छैन । बरु अझै कडा आन्दोलन गर्ने भनेर धम्क्याइरहेको छ ।












