४ पुस, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजाका क्रममा राष्ट्रपति विद्या भण्डारीलाई लक्षित गरेर भएको ढुंगामुढा र पेट्रोल बम प्रहारको घटनामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले माफी माग्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौमा आयोजित कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता देउवाले ढुंगामुढा र पेट्रोल बम प्रहार गरेर मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारीको अपमान गरेको भन्दै मोर्चाले माफी माग्नुपर्ने बताएका हुन्। राष्ट्रपतिले टेकेको मन्दिर चोख्याउने र उनलाई विधवा र अलच्छिनी भनेकोमा माफी माग्नु पर्ने समेत उनले बताए ।
उनले संवैधानिक राष्ट्रपतिको सम्मान गर्नु सबैको दायित्व भएको बताए। उनले संवैधानिक राष्ट्रपति देशभित्रकै मन्दिरमा पूजाआजाका लागि जाँदा ढुंगामुढा हुनु लज्जाको विषय भएको भन्दै सरकारले घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए।

पुस १ गते विवाह पञ्चमी महोत्सवमा सहभागी हुने क्रममा मोर्चाका कार्यकर्ताले राष्ट्रपति भण्डारीलाई लक्षित गरेर ढुंगामुढा र पेट्रोल बम प्रहार गरेका थिए । उनीहरुले विधवाले मन्दिरभित्र पूजाआजा गर्न नपाइने भन्दै राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्दा मन्दिर अशुद्ध भएको प्रचारसहित मन्दिर चोख्याउने नाममा मन्दिर क्षेत्रमा गंगाजल छर्किएर राष्ट्रपतिको अपमान समेत गरेका छन् । काँग्रेसका वरिष्ठ नेता देउवाले मोर्चाका कार्यकर्ताले राष्ट्रपतिमाथि गरेको व्यवहार भत्सर्नायोग्य भएको बताए। उनले संसद्मा पेश गरिएको संविधान संशोधन विधेयकमा चित्त नबुझेका कुरा सुझाव दिन मोर्चासँग आग्रह समेत गरे। उनले मोर्चाको सुझाव अनुसार संविधान संशोधनका लागि आफ्नो पार्टी तयार रहेको भन्दै सीमा नाकाको धर्ना बन्द गरेर विधेयकमाथि सुझाव दिन आग्रह गरे।
कांग्रेसका वरिष्ठ नेता देउवाले प्रदेशको सीमांकन हेरफेरका विषयमा छलफलका लागि समेत काँग्रेस तयार रहेको भन्दै मोर्चाको आन्दोलनको औचित्य नरहेको बताए। कार्यक्रममा कांग्रेसकै केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान जारी गर्न हतार गरेको परिणामस्वरुप मधेशका जिल्ला अशान्त भएको भन्दै संविधानलाई पूर्णता दिन मधेशको आन्दोलन साम्य पारिनुपर्ने बताए।
काँग्रेस नेता केसीले पार्टीमा अनुशासनहीनता मौलाएको भन्दै अहिलेको प्रवृत्ति कायम रहे पार्टीका सबै संरचना निकम्मा हुने बताए।











