२ पुस, काठमाडौं । नेपाल पर्यटन बोर्डमा झण्डै चार वर्षपछि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्ति भएको छ । तत्कालीन कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठको कार्यकाल सकिएपछि रिक्त पदमा दीपकराज जोशी नियुक्त भएका हुन् ।

श्रेष्ठको कार्यकाल सकिएपछि तीन वर्षभन्दा धेरै समै सुवास निरौलाले निमित्त सिइओका रुपमा काम गरेपनि उनी भ्रष्टाचारको मुद्दामा निलम्बित भएपछि बोर्ड कार्यकारी विहीन भएको थियो । अन्तिम छनौटमा परेका तीन प्रतिस्पर्धीमा उत्कृष्ठ ठहरिँदै बोर्डका बरिष्ठ अधिकृतसमेत रहेका जोशी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले बैठकले जोशीलाई नियुक्त गरेको थियो ।
बोर्डले सीइओ छनौट गर्न निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका सञ्चालक समिति सदस्य घनेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको सीइओ छनोट उपसमितिले गरेको तीन जना सिफारिशको आधारमा उच्चतम अंक ल्याउने र क्षमतावान व्यक्तिका रुपमा जोशीलाई नियुक्त गरेको बोर्डका सदस्य राजेन्द्र सापकोटाले बताए ।
अन्तिम प्रतिस्पर्धामा जोशीसहित ज्ञानेश्वरप्रसाद महतो र ज्ञानेन्द्ररत्न तुलाधारसमेत चयन भएका थिए । तर, जोशी तुलाधर र महतोलाई पछि पारेर सीइओमा नियुक्त भएका हुन् ।
जोशी १५ वर्षदेखि पर्यटन बोर्डमा कार्यरत थिए । उनले एमबिएसम्मको अध्ययन गरेका छन् । उनको कार्यकाल चार वर्षको हुनेछ ।
क्षमताका आधारमा सिइओ चयन भएको भनिए पनि एमाले निकट व्यक्ति भएका कारण जोसीलाई नियुक्त गरिएको गोप्य स्रोतले बताएको छ । प्रधानमन्त्री केपी ओली तथा पर्यटन मन्त्री आनन्द पोखरेलको योजनाअनुसार सचिव थपलियाले जोसीलाई नियुक्त गर्ने व्यवस्था मिलाएको बताइन्छ । भिजिट नेपाल १९९८ कार्यक्रम मा समेत कार्यक्रम संयोजकका रुपमा काम गरेका डा हरि शर्मा लगायतका अनुभवी व्यक्तिहरुलाई राजनीतिक कारणले नै पाखा लगाइएको स्रोतले बताएको छ ।











