२ पुस, काठमाडौं । आफ्नो सरकारका पालाको संविधान संशोधन विधेयक अगाडि नबढाए भूकम्पपछिको पुनःनिर्माण विधेयक समेत पेश गर्न नदिएको कांग्रेसले यु टर्न गर्दै तत्काल संविधान संशोधन गर्न नहुने निर्णय गरेको छ ।

काँग्रेसको संसदीय दलले विहीबार संविधान संशोधन गर्न हतार गर्न नहुने निर्णय गरेको हो । विधेयकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सहमत गराएर मात्रै संविधान संशोधन गर्नुपर्ने कांग्रेसले निर्णय गरेको हो । तर विहीबार सभामुखले कांग्रेससहितका दलका प्रमख सचेतकसँग छलफल गर्दा शुक्रबारदेखि विधेयकमाथि छलफल गर्न कांग्रेस सहमत भएको थियो ।
आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि विशेष समिति गठन गरिनुपर्ने निर्णय समेत कांग्रेस संसदीय दलले गरेको छ । मोर्चाले मधेशका जिल्लामा गरेको आन्दोलन सम्बोधनका लागि नै संसद्मा संविधान संशोधन विधेयक पेश गरिएको भन्दै विधेयकमा मोर्चालाई सहमत गराउनुपर्ने र यसका लागि विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।











