१ पुस, काठमाडौं । नेपाली कांग्रेसमा नयाँ सक्रिय सदस्यको सङ्ख्या पुराना सदस्यजति नै थपेपछि सदस्यता विवाद टुङ्गो लागेको छ । महाधिवेशनमार्फत पार्टीको नेतृत्व लिने दाउमा सुशील कोइराला र शेरबहादुर देउवा आआफ्ना पक्षका व्यक्तिलाई सदस्यता वितरण गर्ने होडबाजीमा लागेका थिए । दुवै पक्षीय नेताको होडबाजीका कारण यही वर्ष मात्र २ लाख २१ हजार १ सय ७९ नयाँ सक्रिय सदस्य थपिएका छन् । जबकि कांग्रेसका पुराना क्रियाशील सदस्यको सङ्ख्या २ लाख ५६ हजार मात्र रहेको छ ।

नयाँ र पुराना गरी क्रियाशील सदस्यको सङ्ख्या ४ लाख ७० हजार ६ सय ५५ पुर्याएपछि पार्टीभित्रको प्रमुख विवादका रुपमा रहेको सदस्यता विवाद सकिएको छ । यसअघि कांग्रेसका ३ लाख १६ हजार क्रियाशील सदस्य रहेकामा २ लाख ५६ हजारले मात्रै नवीकरण गरेका छन् ।
बुधबार बसेको कांग्रेस कार्यसमिति बैठकले विवाद रहेका जिल्लामा पुराना सदस्यलाई मात्रै निरन्तरता दिने निर्णय गरेको जनाइएको छ । महाधिवेशनको तयारी बारे विहीबार अर्को बैठक बस्दै छ ।











