२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले व्यवस्थापिका संसद्मा सामाजिक न्याय तथा मानवअधिकार समिति रोजेका छन् । व्यवस्थापिका संसद्को मंगलबारको बैठकले अघिल्लो सरकारका १२ जना मन्त्रीहरुका लागि संसदीय समितिहरु तोकेको छ । बैठकले काँग्रेस महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष चित्रलेखा यादवलाई वातावरण संरक्षण, डा. रामशरण महतलाई अर्थ, महेश आचार्यलाई सुशासन तथा अनुगमन, विमलेन्द्र निधिलाई कृषि तथा जलस्रोत, वामदेव गौतमलाई राज्यव्यवस्था, नरहरि आचार्यलाई विधायन तथा डा. मिनेन्द्र रिजाललाई सार्वजनिक लेखा समितिको सदस्य तोकेको हो ।

बैठकले ८ जना सांसद्हरुको समिति हेरफेर गरेको छ । जसअनुसार प्रदीप गिरी सुशासन तथा अनुगमन समितिबाट सामाजिक न्याय तथा मानवअधिकार, रमेश लेखक राज्य व्यवस्थाबाट विधायन, आनन्द ढुंगाना लेखाबाट राज्यव्यवस्था र नरेन्द्रविक्रम नेम्वाङ अर्थबाट विधायन समितिमा पुगेका छन् । बैठकले सांसद्हरु लिला कोइराला, अशोक कोइराला, आशा विक र ईन्द्रबहादुर बानियाँको समिति हेरफेर गरेको छ भने नगेन्द्र कुमाललाई सुशासन तथा अनुगमन समितिको सदस्य तोकेको छ । बैठकले नियमावली मस्यौदा समितिमा चार जना सदस्यहरु थप समेत गरेको छ । बैठकले मधेशवादी दलका अकवाल अहमद साह, धर्मेन्द्रकुमार साह तेली, नरसिंह चौधरी र नरेन्द्र साह कलवारलाई समितिको सदस्यमा थप गरेको हो ।











