मंगलबारदेखि संसद सुचारु गर्न सत्तारुढ र प्रतिपक्षी शीर्ष नेताहरुले सहमत भएका छन् । लगातार अबरुद्ध हुँदै आएको संसद बैठक सुचारु गर्ने विषयमा सभामुख ओनसरी घर्तीले शीर्ष नेताहरुसँग गरेको छलफलमा नेताहरुले यस्तो सहमति जनाएका हुन् । तीन दलका शीर्ष नेताहरुसँगआफ्नै कार्यकक्ष सिंहदरवारमा घर्तीले छलफल गरेपछि संचारमाध्यमलाई जानकारी दिँदै भनिन् – ‘सत्तापक्ष र प्रतिपक्ष दुवैले भोलिदेखि नै संसद सुचारु गर्छौं भन्नुभएको छ । म त्यसमा विश्वस्त छु ।’

मंगलवार दिउसो १ बजे बस्ने संसद बैठक अगाडि नै सदन सुचारु गर्ने विकल्पका बारेमा तीनै दलका नेताहरुले जानकारी गराउने प्रतिबद्धता जनाएको सभामुखले बताइन् ।
अबरुद्ध हुँदै आएको संसद सुचारु गर्ने फरक फरक विकल्पमाथि सोमबार सकारात्मक छलफल भएको घर्तीको भनाइ छ ।
संसदमा पेश गर्न ठिक्क भएका दुवै विधेयक महत्त्वपूर्ण रहेको र दलहरु सहमतिमा पुग्छन् भने संविधान संशोधन र भूकम्पको पुनर्निर्माण प्राधिकरण सम्बन्धी विधेयक दुवै एकै पटक अघि बढाए पनि हुने प्रस्ताव घर्तीले गरेकी छिन् । सहमति हुन्छ भने छोटो समयको अन्तरालमा दुईमध्ये एकलाई अघि बढाए पनि हुने प्रस्ताव पनि उनले नेताहरुसँग गरेकी थिइन् ।











