२७ मंसिर, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीका नेताहरुमा आर्थिक पारदर्शीता नभएकोले केन्द्रीय नेताले अन्य आयमूलक काम गर्न नपाउने भनी केन्द्रीय समितिमा पेश गरेको प्रतिवेदनमाथि छलफल चल्दै गर्दा सोही पार्टीका मन्त्रीहरुले चीन प्रकरण उब्जाएपछि पेरिसडाँडामा हल्लिखल्ली मच्चिएको छ । गृहमन्त्री शक्ति वस्नेतले आफ्नी छोरी, पत्नीको आफन्त, र प्रचण्डकी नातिनीलगायतलाई चीन पठाएपछि एमाओवादी केन्द्रीय समितिमा व्यापक आलोचना भएको हो । आइतबारको बैठकमा यस विषयले प्रवेश पाएको र सोमबार वृहत् छलफल हुने एमाओवादी नेताहरुले बताएका छन् ।
केन्द्रीय समिति बैठकमा प्रचण्डकै कार्यशैलीको व्यापक आलोचना भएपछि एकीकृत प्रचण्डले आफ्नो दलका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई सोमबार पार्टी मुख्यालयमा अनिवार्य रुपमा हाजिर हुन निर्देशन दिएका छन् ।
एमाओवादी केन्द्रीय समितिको सोमबारको बैठकमा प्रचण्ड केही ढिलो पुगेका थिए । प्रचण्ड नआउञ्जेल उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकको अध्यक्षता गरिरहेका थिए । बैठकको कार्यसूची अनुसार केन्द्रीय सदस्यहरुले समय मागेर बोल्ने क्रम चलिरहेको थियो ।
यसैवीच प्रचण्ड बैठकस्थलमा प्रवेश गरेपछि केन्द्रीय सदस्य हेमराज भण्डारीले हात उठाएर बोल्न पाउनुपर्ने माग गरे । पहिल्यै बैठकमा बोलिसकेका र १५ पृष्ठको फरक मतसमेत राखिसकेका भण्डारीलाई रोकेर प्रचण्डले पछि बोल्ने पालो आउँछ भन्दै बस्न आग्रह गरे ।
प्रचण्डले बस्न भन्दाभन्दै भण्डारीले गृहमन्त्रीले भूकम्पपीडितको कोटामा नातेदारलाई चीन पठाएको विषयमा पार्टीको धारणा के हो भनी प्रश्न गरे । उनले भने- ‘यसलाई केन्द्रीय समितिले विशेष प्रस्ताव बनाउनुपर्छ र आजै यसबारे छलफल हुनुपर्छ । पार्टीलाई रुपान्तरण गर्ने भन्ने अनि रुपान्तरण यही हो ?’
भण्डारीले कडा रुपमा बोलिसक्नासाथ अर्का केन्द्रीय सदस्य श्रीप्रसाद जबेगूले उठेर भने- ‘तलबाट हामीलाई यही विषयमा प्रश्न सोधिँदैछ, सरकारमा बस्नेहरुले गडबडी गर्ने अनि हामीले कार्यकर्ता र जनतालाई के जवाफ दिने रु गृहमन्त्रीले गरेको यो कार्यबारे केन्द्रीय समितिमा छलफल हुनैपर्छ ।’
भण्डारीले बोलिसक्ना साथ गृहमन्त्री बस्नेत बैठकस्थलमा प्रवेश गरेका थिए । बैठकमा नेताहरुले प्रश्न उठाएपछि प्रचण्डले ‘चाइना प्रकरण’को विषयले एजेण्डाका रुपमा प्रवेश पाएको जानकारी बैठकलाई गराउँदै सोमबार यसबारे छलफल हुने बताए ।
अघिल्लो सातादेखि जारी एमाओवादीको बैठकमा केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सोमबार सकिँदैछ ।












