२६ मंसिर, काठमाडौं । कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा सभापतिका दुई आकांक्षी रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच आरोपप्रत्यारोप बढ्दै गएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सहभागी भएको दुई नेताहरुले एकअर्कालाई आरोपप्रत्यारोप गरेका हुन् ।

उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसले उम्मेद्वारी दिनाले कार्यकर्ता र जनतामा पार्टी बदनाम भएकोले त्यसको जवाफ सभापति सुशिल कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले दिनुपर्ने बताए । कोइराला र देउवाले त्यो कारण बारे कार्यकर्तालाई प्रष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यस बारेमा सभापति कोइराला र वरिष्ठ नेता देउवाले कार्यकर्तालाई प्रष्ट नपार्नु कार्यकर्तामाथिको अपमान भएको भन्दै कार्यकर्ताको सहानुभूति आफूले लिने कोसिस पौडेलले गरेका थिए । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको पद गुमाएपछि आम कार्यकर्ताले नेतृत्वको क्षमतामाथि नै प्रश्न गरिरहेको भन्दै पौडेलले कोइरालालाई समेत आरोप लगाए ।

तर देउवाले पौडेलको जवाफ दिँदै कांग्रेस बदनाम नभएको जिकिर गरे । प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावक आफू नबस्दा सभापतिकै विरोध गरेजस्तो हुने भएकाले कार्यकर्तासामु त्यस्तो सन्देश नजाओस् भनेर आफू प्रस्तावक बसेको स्पष्टोक्ति देउवाले दिए । कांग्रेसले पद गुमाए पनि राजनीति नहारेको देउवाको भनाइ थियो ।











