२६ मंसिर, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले वर्तमान संविधानलाई अस्वीकार गर्न नहुने बताएका छन् । सुनसरीमा शनिबार संचारकर्मीसँग कुरा गर्दै गजुरेलले संविधान जस्तो भए पनि स्वीकार गर्नुपर्ने बताए हुन् । दोस्रो संविधान सभाको निर्वाचनको विरोध गरेको र त्यसबाट जारी संविधानको समेत विरोधमा रहको क्रान्तिकारी माओवादीका उपाध्यक्षले संविधान स्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

हालै जारी संविधान भारतीय ईच्छा विपरीत बनेकोले स्वीकार गर्नु उपयुक्त हुने उनले बताए । वर्तमान सरकार जनविरोधी भए पनि भारतको इच्छाविपरीत गठन भएको पहिलो सरकार भएको उनले बताए । जनताका समस्याको सम्बोधन नगरी पूर्वराष्ट्रपति लगायतका व्यक्तिलाई सुविधा दिँदा तीन अरबभन्दा बढी रकम खर्च हुने भएकोले यसलाई तत्काल हटाउन समेत उहाँले माग गरे ।
नेपाल र भारतको वर्तमान सम्बन्धबारे गजुरेलले अहिले नेपालमा तीन भारतीय शक्तिले काम गरिरहेको दावी गरे । भारत सरकार, विपक्षी कांग्रेस आई र रअले नेपालमा नेपालविरोधी काम गरिरहेको भनाइ उनको थियो ।











