२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । महाराजगन्जस्थित कोइराला निवासमा दुई नेताबीच शुक्रबार साँझ भेटवार्ता भएको हो । जारी राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको बिन्दु पहिल्याउने प्रयास स्वरुप प्रमुख प्रतिपक्षी दलका नेता कोइराला र आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता ठाकुरबीच भएको जनाइएको छ ।

कांग्रेसले संसदमा पेश गर्नुपर्ने भनी अडान राखेको संविधान संशोधन विधेयकप्रति मधेसी मोर्चाले असन्तुष्टी जनाउँदै आएको छ ।
शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले भूकम्पमा क्षतिग्रस्त संरचना पुनर्निर्माण सम्बन्धी विधेयकसँगै संविधान संशोधनको विधेयकपनि अगाडि बढाउने विषयमा सरकार र मोर्चाका नेताहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । आजै सरकारले बोलाएको त्रिपक्षीय वार्तामा भने कांग्रेस नेताहरु अनुपस्थित थिए ।











