२४ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैंक खाता रोक्का गरेर सम्पत्ति छानविनको पत्र पठाएपछि एमाले पोलिटब्यूरो सदस्य डा विजय पौडेलले नैतिकताका आधारमा राजीनामा दिएका छन् ।
आफूमाथि राज्यको संवैधानिक अङ्गबाट नै छानबिन शुरु भइसकेकाले यसको छिनोफानो नहुँदासम्मका लागि पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएको पौडेलले बताएका छन् ।
पौडेलले विहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएको पत्र केन्द्रीय कार्यालय धुम्बाराहीमा दर्ता गराएका छन् ।

राजीनामा पत्रमा पौडेलले भनेका छन्( ‘मैले आफ्नो आर्थिक तथा नैतिक आचरणमा आजका मितिसम्म कुनै दाग लाग्न दिएको छैन । यस्तो हुँदाहुँदै पनि मलाई केही कुरा बुझ्नका लागि भन्दै अख्तियारबाट पत्र लेखियो, त्यहाँ पुगेपछि थाहा भयो, मलाई सम्पत्ति छानविनका सिलसिलामा बोलाइएको रहेछ ।
पौडेल एमालेका पूर्वसभासद् तथा नेता मोदनाथ प्रश्रितका छोरा हुन् । उनी सार्वजनिक लाभको पदमा अहिलेसम्म बसेका छैनन् ।
लाभको पदमा बसेका एमाले नेताहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र वंशीधर मिश्रको खाता समेत अख्तियारले रोक्का गरेको छ । तर एमाले नेतृत्वले उनीहरुको संरक्षणका लागि कसरत गरिरहेको छ ।











