२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आयोगले जनताको अपेक्षा अनुसार राजनीतिक व्यक्ति र उच्च प्रशासकहरुमाथि अनुसन्धान सुरु गरेको भन्दै कुनै पनि हालतमा छानविन तथा कारवाही प्रक्रिया नरोक्ने बताएका छन् ।

भ्रष्ट्राचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोगले बुधबार आफ्नै परिसरमा गरेको कार्यक्रममा प्रमुख आयुक्त कार्कीले आयोग कसैको दवाबसामु नझुक्ने पनि बताए । आयोगले केही दिन पहिले एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरादेखि नेकपा एमालेका राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे लगायतका नेता तथा बहालवाला तीन जना सचिवसहित २९ जना भीआइपीलाई बयानका लागि पत्र काटेको थियो । त्यो पत्रको विषयलाई लिएर एमाले र एमाओवादीका नेताहरुले अख्तियारको आलोचना गर्दै आएका छन् ।
आयोगका प्रमुख आयुक्त कार्कीले भने आयोगले नेता तथा प्रशासकहरुले बुझाएको सम्पति विवरणलाई आधार मानेर विधिसम्मत रुपमा पत्र काटेको भन्दै आफूले जस्तोसुकै चुनौतीको सामना गर्ने तर अनुसन्धान नरोक्ने बताउनुभयो । उहाँले अख्तियारले ठूला माछालाई समाएन भनेर आलोचना गर्ने अनि राजनीतिक र उच्च प्रशासनिक तहको तस्विर हेर्न खोज्दा पनि आपत्ति जनाउने प्रवृत्तिले भ्रष्टाचार नियन्त्रणमा सहयोग नपुग्ने बताए । उनले राजनीतिक र उच्च प्रशासकमाथिको छानविन अघि बढाउनका लागि आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । पद् गुम्ला भनेर आफूले छानविन नरोक्ने समेत उनले चेतावनी दिए ।











