२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्ट्राचार नियन्त्रणका लागि कानुनको कडाइका साथ कार्यन्वयन गर्नु मुख्य चुनौती रहेको बताएका छन् ।
भ्रष्ट्राचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार आयोजना गरिएको कार्यक्रममा उहाले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुनी व्यवस्था र संरचनागत व्यवस्था पर्याप्त भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका दृढ भएर काम गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गरे । उनले कानुनी व्यवस्थाको निष्ठापूर्वक गरिने कार्यान्वयनले नै कानुनी राज्यको आभाष जनतालाई दिलाउने भन्दै त्यसको लागि सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले सुशासन, कानुनी राज्य तथा राष्ट्र निर्माणको मुख्य चुनौतिको रुपमा रहेको भ्रष्टाचारलाई निर्मुल पार्न यसको रोकथामका निरोधात्मक, दण्डात्मक एवं प्रवद्र्धनात्मक, सबै उपायहरु अवलम्बन गरी शुन्य सहनशीलताको नीति अंगिकार गर्नु आजको प्रमुख दायित्व रहेको धारणा व्यक्त गरे ।
भ्रष्टाचार विरुद्धको राष्ट्रिय प्रतिवद्धता र अभियानलाई अझ बढी सशक्त ढंगले अघि बढाउन यस सम्बन्धमा देखिएका कमी कमजोरीलाई हटाइ आवश्यक सबै व्यवस्था गर्दै जाने उद्देश्यका साथ आफ्ना समग्र क्रियाकलापहरुलाई सञ्चालित गर्न नेपाल सरकार प्रतिवद्ध र क्रियाशील रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्ध सबै एक भई जनतालाई महसुस हुने गरी परिणाममुखी कार्य गर्न सरकारका तर्फबाट यथोचित सहयोग हुने पनि विस्वास व्यक्त गरे ।












