२३ मंसिर, काठमाडौं । काठमाडौंको झोंसेस्थित इन्डक्सल चुल्होको गोदाममा आगलागी भएको छ । इलेक्ट्रोनिक्स सामानको गोदाममा बुधबार आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको हो ।
दुर्गा ट्रेडर्सको गोदाममा आगलागी भएको हो । आगो लागेको बेला गोदाममै फँसेका सुरक्षा गार्डलाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ ।

वंशीकृष्ण श्रेष्ठको घरको एउटा फ्लाट भाडामा लिएर अनुज खतिवडाले इन्डक्सन चुल्हो लगायतका बिजुलीबाट चल्ने सामान भण्डारण गरेर राखेका थिए । दिउँसो २ बजेतिर लागेको आगोले पाँचकोठे फ्लाटमा राखिएका सामान सबै जलेर नष्ट भएका छन् ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भैरहेको प्रहरीले जनाएको छ ।
आगो निभाउने प्रयासमा माथिल्लो तलामा उक्लिएका सुरक्षा गार्ड कृष्णहरी दाहाललाई सेनाको टोलीले उद्धार गरेको थियो । उद्धारपछि दाहालले आफूले पुनर्जीवन पाएको प्रतिक्रिया दिए ।
केही दिन अगाडि दुई ट्रक इन्डक्सल चुल्हो ल्याएर राखिएको थियो । आगो लाग्नेबेला विजुली नभएको तर आगो कसरी लाग्यो भन्ने रहस्य भएको उनले बताए ।











