२२ मंसिर, काठमाडौं । भारतको नाकाबन्दीका कारण समस्यामा परेको नेपाललाई साउदी अरबले १ करोड लिटर पेट्रोलियम अनुदान दिने भएको छ । साउदी सरकारले पेट्रोलियम अनुदान दिने संकेत गरेपछि नेपाल सरकारले औपचारिक आग्रहसहितको पत्र पठाएको छ ।
नेपाल सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सरकारले साउदी अरबसँग तेल उपलब्ध गराउन आग्रह गरेको हो ।

यसअघि चीनसँग अनुदानको पेट्रोल ल्याएको सरकारले साउदी अरेबियालाई पनि तेल सहयोग गर्न आग्रह गर्दै औपचारिक पत्र लेखेको वाणिज्य मन्त्रालयका सहसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।
परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको छ ।
मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं ।’
काठमाडौंस्थित साउदी अरबका राजदुतले तेल दिन सक्ने बताएपछि पत्र काटिएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।
‘काठमाडौंमा रहेका साउदी राजदुतले साउदीले एयर कार्गोमार्फत अनुदानमा तेल दिन सक्ने बताएपछि नै पत्र काटिएको सरकारले जनाएको छ। साउदीमा रहेको नेपाली राजदुतावासले पनि समन्वय गरेको छ । साउदी सरकारले काठमाडौंसम्म ल्याएर तेल दिनेमा मन्त्रालय विश्वस्त रहेको पनि मन्त्रालयका अधिकारीले बताएका छन् ।











