२० मंसिर, काठमाडौं । उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आलोचना गरेका छन् । केहीदिनपहिले दिल्लीमा भेट गरी स्वराजको प्रशंसा गर्दै नेपाल फर्केका थापाले आइतबार भने उनको आलोचना गरे । स्वराजले केही दिनअघि नेपाल बारे माथिल्लो सदन राज्यसभामा दिएको अभिव्यक्ति भ्रमपूर्ण र हस्तक्षेपयुक्त रहेको बताएका हुन् ।
व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री थापाले भारतको संसदमा विदेशमन्त्री स्वराजले दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रतामा हस्तक्षेप गर्ने खालको रहेको बताउए।
भारतीय विदेशमन्त्री स्वराजले केही दिन अघि राज्य सभामा भारतको नेपाल बारेको १४ बुँदे धारणा प्रस्तुत गरेकी थिइन् । विदेशमन्त्री स्वराजले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन कार्यमा ढिलाइ गरेको आरोप पनि लगाएकी थिइन् । भारतले विदेश सचिव पठाएर दिएको सुझाव नसमेटिएको विवरण स्वराजले प्रस्तुत गरेकी थिइन् ।
आइतबार बसेको समाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा परराष्ट्रमन्त्री थापाले नेपाल–भारत सम्बन्ध पछिल्लो समय बिग्रिएको बताए । कुटनीतिकभन्दा पनि व्यक्तिगत तवरमा सम्बन्ध बनाउन खोज्दा दुई देशबिचको सम्बन्ध बिग्रिएको मन्त्री थापाले खुलासा गरे ।
परराष्ट्र मन्त्री थापाले आफ्नो पछिल्लो भारत भ्रमण नाकाबन्दी खुलाउनका लागि सकारात्मक भएको बताउन भने उनी पछि परेनन् । केही समयभित्र मै परीस्थिती सहज बन्दै जाने दावी उनले गरे।
तर परिणाम नआएसम्म विश्वस्त हुन सक्ने अवस्था भने नरहेको उनको भनाइ थियो । विगतमा पनि पटक पटक धोका पाएकाले ढुक्क हुने अवस्था भने नरहेको थापाले उल्लेख गरे ।
सीमानाका भएको असुरक्षाका कारण नेपालमा गाडी पठाउन नसकिएको भन्ने भारतको दाबी निराधार रहेको परराष्ट्रमन्त्री थापाले बताए । आफूले भारत भ्रमणका बेला त्यहाँका नेतासँग यसबारे कुरा गरेको उहाँले बैठकमा जानकारी गराए।
चीनबाट इन्धन ल्याउनका लागि कुटनीतिक पहल भइरहेको पनि उनले बताए । चीनसँगका सबै नाका खुलाउनका लागि पनि छलफल चलिरहेको जानकारी उनले दिए ।













