१९ मंसिर, काठमाडौं । राजधानीको किष्ट मेडिकलले सर्वोच्च अदालतको आदेशविपरीत विद्यार्थीबाट महंगो शूल्क उठाउन थालेको छ । राजधानीभित्र ३५ लाखभन्दा बढी शूल्क नलिन सर्वोच्चले दिएको आदेशविपरीत एमबिबिएस पढाएवापत् किष्टले चालीस लाखभन्दा बढी रकम मागेको भेटिएको छ ।
काठमाडौं उपत्यकाभित्र ३५ लाख र उपत्यकाबाहिर विश्वविद्यालयले तोके भन्दा बढी नलिन सरकारले मेडिकल कलेजहरुका नाममा निर्देशन जारी गरिसकेको छ। सरकारको निर्देशनविपरीत शुल्क नलिन भन्दै सर्वोच्च अदालतले समेत अन्तरिम आदेश दिइसकेको छ।
तर उपत्यकाभित्रैको किष्ट मेडिकल कलेजले एमबिबिएस पढ्न आउने विद्यार्थीसँग साढे ४४ लाख रुपैयाँ असुले गरेको प्रमाण फेला परेको छ।

ग्राहकसँग किष्टले वागेनिङ गरेको एक अडियो रेकर्डअनुसार ग्वार्कोमा रहेको किष्ट मेडिकल कलेजले प्रति विद्यार्थी साढे ४२ लाख एकमुष्ट र २ लाख अतिरिक्त मागको पाइएको हो । उक्त कलेजका प्रशासन प्रमुख केशव आचार्यले भर्ना गर्न आउने विद्यार्थीसँग आफूले ३५ लाखमा पढाउन नसक्ने भन्दै ४२ लाख रुपैयाँ मागेको अडियोमा छ।
ुतपाईंहरुलाई जानकारी दिऊँ, साढे ४२ लाख एकमुष्ट दिनुपर्छ। त्यसबाहेक दुई लाख अतिरिक्त लाग्छ,ु अडियोमा उनले भनेका छन्।
पूर्वप्रधानमन्त्री निकट मानिने कृष्ण आचार्यले चलाएको सो कलेजमा यसअघि समेत विभिन्न विवाद आउने गरेका थिए । वृद्ध तथा अशक्तहरुलाई दुव्र्यवहार गर्ने लगायतका तथ्यहरु भेटिएका थिए ।
तर ती सबै कुराहरुलाई संचारमाध्यममा आउनबाट रोक्नका लागि कृष्ण आचार्यले आफ्नी साली निर्मला शर्मामार्फत कसरत गर्दै आएका थिए । संचारिका समूहकी अध्यक्ष शर्माले किष्टको गलत कर्तुतको ढाकछोप गर्नदेखि पब्लिसिटी गर्नका लागि ठूलो रकम लिनेदेखि संचारिका समूहलाई समेत दुरुपयोग गर्ने गरेको बताइन्छ ।
यसविषयमा कलेज प्रशासनसँग जानकारी लिन खोज्दा एक अनलाइन पत्रिकाले आफूहरुको विषयमा अफवाह फैलाएर रकम लिन खोजेको बतायो । मेडिकल कलेज क्षेत्रमा मोटो रकम चलखेल हुने भन्दै संचारमाध्यमका लागि सहयोग गर्न सो अनलाइनले आग्रह गरेको समेत प्रशासनले बताएको छ । तर अनलाइनको नाम भने प्रशासनले बताउन चाहेन ।











