१८ मंसिर, काठमाडौं । मधेसकेन्द्रित दल र बाबुराम भट्टराईको नयाँ शक्ति निर्माण अभियानको मधेसकेन्द्रित आन्दोलन कमजोर भएपछि उनीहरुले सरकारमाथि आरोप लगाउन थालेका छन् । नाकाबन्दीले भारतीय सिमाका जनताले प्रतिकार गरेको र पूर्वपश्चिम राजमार्गमा आमसभा गर्दा समेत लखेटिएका कारण मधेसी मोर्चा र नयाँ शक्ति निर्माण अभियानका नेताहरुले सरकारले षडयन्त्र गरेर आफूहरुको आन्दोलन असफल पार्न खोजेको आरोप लगाएका छन् ।
नेपालदेश डटकमसँग कुराकानी गर्दै नयाँ शक्ति निर्माण अभियानका नेता रामकुमार शर्माले चुरे भावरका कार्यकर्तालाई भत्ता दिएर सर्लाहीको आमसभा विथोल्न लगाएको आरोप लगाए । सरकारले चुर भावरलाई पठाएर ठाउँठाउँमा जुलुश निकाल्न लगाएको र केही दिनपहिले इटहरिमा समेत आमसभा विथोल्न लगाएको आरोप शर्माको छ ।
शर्माको आरोपको खण्डन गर्दै एमाले नेता जगन्नाथ खतिवडाले अहिले आन्दोलनका नाममा नाकाबन्दी गर्नेहरुले कसको भत्ता लिएर काम गरिरहेका छन् त्यो प्रष्ट पार्नुपर्ने प्रतिक्रिया दिए । बाबुराम र मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले विदेशी शक्तिबाट रकम लिएर नाकाबन्दी गरेको बताउँदै खतिवडाले भने – ‘उनीहरु जसरी आफूहरुले भारतको भत्ता लिएर काम गर्छन् त्यसरी नै अरुले पनि भत्ता लिएको ठान्दछन् । त्यो उनीहरुको दृष्टिदोष हो ।’












