१७ मंसिर, सर्लाही। इटहरीमा मधेसी मोर्चाको कार्यक्रम गर्ने मंच स्थानीयहरुले जलाएको एक हप्ता नवित्दै सर्लाहीको आमसभाबाट मोर्चाका नेता कार्यकर्तालाई चुरे भावरका कार्यकर्ताले लखेटेका छन् । विहीबार सर्लाहीको नवलपुरमा चुरे भावर र मधेसी मोर्चाका कार्यकर्ताबीच भिडन्त भएको छ । भिडन्तपछि मोर्चाका कार्यकर्ताहरु लखेटेर चुरे भावरका कार्यकर्ताले नवलपुरमा प्रदर्शन गरेका छन् । मोर्चाका कार्यकर्ता र नेतालाई लखेटेपछि मोर्चाले आमसभाका लागि बनाइएको मञ्चलाई चुरे भावरका कार्यकर्ताले तोडफोड गरेका थिए ।
दुवै पक्ष आमनेसामने भएर भिषण भिडन्त सुरु हुन लागेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । मोर्चाको सभामा राजेन्द्र महतोको नाम लिनेवित्तिकै तनाव सुरु भएको थियो ।
मधेसी मोर्चाको आमसभा सुरु भइसकेको अवस्थामा चुरे भावरले घेरा हाल्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार आमसभामा संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठले बोलिरहेका बेला चुरे भावरको समुह प्रहरी घेरा तोड्दै आमसभा स्थलमा प्रवेश गर्न खोजेको थियो ।
आमसभामा उपस्थित समुह पनि भावरविरुद्ध उत्तेजित भइसकेको थियो । दुवै तर्फका प्रदर्शनकारीले हातमा भाटा बोकेका थिए । जब उद्घोषकले राजेन्द्र महतो आइपुग्न लागेको बताए तब आमसभामा हुटिङ सुरु भयो भने भावरका प्रदर्शनकारी जाइलाग्न थाले ।
भिडन्त हुने देखेपछि प्रहरीले हवाई फायर र रवरका गोली चलाएका थिए ।
मोर्चाका कार्यकर्ताले पनि प्रहरीमाथि ढुंगामुढा गरेका थिए । झडपमा प्रहरी तर्फ ६ जना र आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ ।
मधेसी मोर्चाका केन्द्रिय नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादव आमसभामा उपस्थित हुने भनिएको थियो । महन्थ, उपेन्द्र काठमाडौं फर्किए भने महेन्द्र आमसभामा आएनन् । महतो मोटरसाइकलमा सभास्थल पुग्दै गर्दा कार्यक्रम विथोलिएको कारण महतोमाथि कुनै आक्रमण हुन पाएन । सभास्थलमा भिषण भिडन्त भएपछि महतो ज्यान जोगाउनका लागि अन्यत्रै मोडिएका थिए ।
यसैबीच आक्रोसित मोर्चाका कार्यकर्ताले मानवअधिकार आयोगको गाडीमा आगजनी गरेका छन् ।












