१७ मंसिर, वीरगंज । नेपाल भारत नाकामा अवरोध गरेर नेपाली र भारतीय जनतालाई दुःख दिने मधेसी मोर्चाका कार्यकर्तालाई भारतीय जनताले कुटेका छन् । नेपाल र भारत आवतजावत गर्न नदिएको, दुई देशीय व्यापार गर्न नदिएको र भारतीय जनताबीच आतंक फैलाएको भन्दै रक्सौलका स्थानीय युवाहरुले नाका अवरोध गर्नेलाई कुटपिट गरेका हुन् ।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुलको दशगजामा धर्ना दिएर सीमा ठप्प पारेका मधेसी दलका नेताकार्यकर्ता माथि सिमावर्ती शहर रक्सौल अहिरवा टोलका युवाहरुले आन्दोलनकारीमाथि गएरातीदेखि बारम्बार आक्रमण गरेका छन् ।

दसगजा क्षेत्रनजिकै रहेको रक्सौलको अहिरवा टोलका तेल तस्करीमा संलग्न ५/७ जना युवाको समूहले धर्नामा बसेका आन्दोलनकारीलाई आज विहान पनि कुटपिट गरेर केही बेर धर्नास्थलबाट लखेटेका थिए । भाटा सहित धर्नास्थलमा पुगेर धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथि अन्धाधुन लाठीफाटा प्रहार गरेका थिए । उनीहरुले आन्दोलनकारी माथि ढुगामुडा पनि प्रहार गरेका छन । उनीहरुको कुटाइबाट धर्नामा बसेका मधेसी मोर्चाका आधार्दजन भन्दा बढी कार्यकर्ताहरु घाईते भएका छन । घाईते हुनेमा वीरगन्ज १९ ईनर्वाका सत्रुधन यादव, मदन यादव, वीरगन्ज १० गहवाका महिला नेतृ रेखा साह, वीरगन्ज १६ राधेमाईका रंजन मिश्रा रहेका छन । घाईते मध्ये सत्रुधन र रंजनको टाउको फुटेको छ र उनीहरुको वीरगन्ज स्थित नारायणी उपक्ष्ँेत्रिय अस्पतालमा उपचार भई रहेको छ । त्यसैगरी गएराती पनि भारतीयको कुटाईबाट बाराको कलैया २ का सुरेश साह कानु, फेटा २ का रन्जित साह, दक्षिण झिटकैयाका रामदहिन यादव, नन्दु यादव र वीरगन्ज १३ का फिरोजबाबु खान छन् । उनीहरूमध्ये कानुको अवस्था गम्भीर छ । घाइते पाचैजनाको वीरगन्जकै नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
अहिरवाटोलका युवाहरुले नेपाल तर्फको सिमामा घेरिएका भारतीय ट्रक लैजान खोजेपछि धर्नास्थलमा रहेका आन्दोलनकारीहरुले ट्रक लैजान नदिएपछि उनीहरुले आक्रमण गरेका हुन । १० हजार रुपैयाँ लिएर भारतीय युवाहरुले रक्सौल स्थित बजरंग ट्रान्सपोर्टका एउटा गाडी पास गर्न जिम्मा लिएको र हामीले जान नदिएपछि रातीको समयमा झुन्ड बनाएर आई कुटपिट गरेको धर्नामा बसेका प्रदर्शनकारीले बताएका छन । धर्नामा बसेका अधिकांश आन्दोलनकारी खाना खानका लागि रक्सौलमा सञ्चालित मेसमा गएको मौका छापेर केहि युवाहरुले धर्नास्थलमा आक्रमण गरेको थियो । भारतीय युवाहरुले धर्नास्थलमा टागेको टेन्ट भत्काउन खोजेपछि आन्दोलनकारीहरु प्रतिकारमा उत्रेका थिए । भारतीयहरूले धर्ना स्थलमा बसेकाहरूलाई कुटपिट गर्दै लखेटेको खबर पाएलगत्तै वीरगन्ज र आसपासको क्षेत्रबाट अरू आन्दोलनकारी मितेरी पुलमा पुगेर पूर्णरुपमा नाका ठप्प पारेका छन ।

रक्सौल अहिरवा टोलका केही अराजक तत्वले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उक्साहटमा धर्नामा बसेका आन्दोलनकारीमाथि आक्रमण गरेको मोर्चाका नेताहरुले बताएका छन । तेल तस्करीमा छुट दिएकोले भारतीय केही युवाहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीको उस्काहटमा धर्नास्थल बिथौल्ने प्रयास गरेको मोर्चाका नेताले आरोप लगाएका छन ।
भारतीयबाट समेत कुटाइ खाएका मधेसी मोर्चाका कार्यकर्ताले भने नेपालीलाई नै कुटपिट गर्न थालेका छन् । भारततर्फ गईरहेको ना १७ प ७७६५ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई उनीहरुले तोडफोड समेत गरेका छन् । त्यस्तै बजार बन्द गराउन हिडेका मोर्चाका एकजना कार्यकर्तालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जका मेनरोडमा खुल्ला रहेको बजार बन्द गराउन खोजेको भन्दै प्रहरीले वीरगन्ज १३ घडिअर्वाका गरिबनाथ गुप्तालाई पक्राउ गरेको छ ।











