१७ मंसिर, काठमाडौं । प्रमुख तीन दलले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि भन्दै संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय प्रमुख दलले गरेका हुन् । बैठकले मोर्चाले उठाएको माग सम्बोधन गर्न उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने सहमति गरेको नेताहरुले जनाएका छन् ।

मधेसी मोर्चाका मागबारे प्रमुख तीन दलको साझा धारणा नआउँदा वार्ता प्रभावित हुँदै आएको थियो । बैठकले मोर्चाका अन्य मागका विषयमा पनि धारणा बनाउँदै जाने सहमति गरेको छ ।
यसअघि बुधबार बस्ने भनिएको प्रमुख तीन दलसहितको मधेसी मोर्चाको वार्ता स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मोर्चाका मागबारे प्रमुख तीन दलले साझा धारणा बनाएपछि वार्ताको अर्को मिति तय गर्ने भन्दै त्रिपक्षीय वार्ता स्थगित गरेका थिए ।











